गण्डकी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की जिल्लामा कुल २,३०३ जना निर्वाचन प्रहरी खटाइने भएको छ। यसका लागि दरखास्त आगामी माघ १ गतेभित्र बुझाउन सकिने निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले जानकारी दिएको छ।
समितिका सदस्यसचिव तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निर्वाचन प्रहरी भर्ना प्रक्रियाका लागि दरखास्त जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गणमा बुझाउन सकिने बताए।
निर्वाचन प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, पूर्व निर्वाचन म्यादी प्रहरी र विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ।
उमेरको सिमा १८–५४ वर्ष र साधारण लेखपढ जान्ने व्यक्तिले दरखास्त दिन पाउनेछ। छानबिन प्रक्रिया आगामी माघ ५–१० गतेसम्म सम्पन्न हुने र नतिजा माघ १२ गते प्रकाशित गरिनेछ। प्रशिक्षण माघ १५–२४ गतेसम्म हुनेछ भने कार्य अवधि ४० दिन तोकिएको छ।
निर्वाचन प्रहरीलाई ४० दिनको लागि रु ३४,७७६, खाद्यान्न तथा पोसाक, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु १,२०० उपलब्ध गराइने छ। भर्ना प्रक्रिया प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सुरक्षा व्यवस्थामा चुस्तता ल्याउने तयारी अघि बढाएको छ। कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा माघ १५ भित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रूपमा अनुरोध गरेको छ। तोकिएको समयभित्र हातहतियार नबुझाए कानुनअनुसार कारबाही हुने जनाइएको छ।।







