काठमाडौं । नेपाली कांग्रेसमा डा.शेखर कोइरालाले पार्टी नेतृत्व र सरकारको नेतृत्व परिवर्तनका लागि दौडधूप चलाइरहेका बेला कांग्रेसका सात प्रभावशाली नेता चाक्सीबारीमा छलफलमा जुटेका छन् ।
सोमबार दिउँसो कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा नेताहरू डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र डा.प्रकाशशरण महतबीच छलफल भएको छ ।
पछिल्लो समय कांग्रेसमा समीकरणमा फेरबदल आउँदा सात नेताले छुट्टै समूह बनाएका छन् । उनीहरू यसअघि पनि यसरी नै बैठकमा जुटेका थिए । सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरूले यसअघि पनि यस्तै बैठक निधि र कोइरालाको निवासमा गरिसकेका थिए ।
समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक गतिविधि र १५औं महाधिवेशनमा एकै समूह बनाएर जाने विषयमा उनीहरूले छलफल गर्दै आएका छन् । देउवाको समर्थन जुटाउन उनीहरू एक भई भेला गर्दै आएका छन् ।
१५औं महाधिवेशनमा देउवा पुनः सभापतिमा उठ्न विधानले रोकेको छ । देउवा स्वयंले पनि अब आफू रिटायर्ड हुन लागेको जानकारी गराइसकेका छन् । त्यही भएर अहिलेसम्म कांग्रेसमा सभापति को भन्ने क्लियर भइसकेको छैन ।











