काठमाडौं।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। महाधिवेशन उद्घाटनअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने तयारी गरिएको छ।

नेपाली कांग्रेसको जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदिशनरसिंह केसीका अनुसार, जुलुस प्रदर्शनका लागि छ वटा रुट तय गरिएको छ। पुस २७ गते बिहान ११ बजे जुलुसहरु निर्धारित स्थानबाट निस्कनेछन् र मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनेछ।

जुलुस निस्कने रुटहरू यसप्रकार छन्:

  • रुट १ – सुन्धारा: चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिम लगायतका जिल्लाका प्रतिनिधि र काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का सबै नगर–वडाका समितिहरु। जुलुस वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

  • रुट २ – रत्नपार्क: नुवाकोट, रसुवा, धादिङका प्रतिनिधि। रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल पुग्ने।

  • रुट ३ – पद्मकन्या क्याम्पस: बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र काठमाडौं निर्वाचन क्षेत्र ५, ६ र ७ का नगर–वडाका प्रतिनिधिहरु। पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्ने।

  • रुट ४ – शंकरदेव क्याम्पस: भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपालचोक, सिन्धुली र काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का प्रतिनिधिहरु। शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्ने।

  • रुट ५ – कमलपोखरी: काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का सबै नगर–वडाका प्रतिनिधिहरु। कमलपोखरी हुँदै चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्ने।

  • रुट ६ – कुपण्डोल (ललितपुर): ललितपुर र मकवानपुरका प्रतिनिधि। कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्ने।

केसीले बताए अनुसार, प्रत्येक रुटमा फरक–फरक जिल्लाका प्रतिनिधि र नेता–कार्यकर्ताहरु सहभागि हुनेछन्।

विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक र संगठनात्मक बहसलाई अघि बढाउने मात्र नभई आगामी स्थानीय र राष्ट्रिय निर्वाचनका तयारीका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्ने विशेष महाधिवेशन पक्षको भनाइ रहेको छ।