काठमाडौं । मंगलबार वर्षकै चिसो मापन गरिएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहान ६.४५ मा तापक्रम २.८ डिग्रीमा झरेको छ । यो सोमबारको भन्दा ०.५ डिग्रीले कम भएको उनको भनाइ छ । सोमबार सोही समयमा तापक्रम ३.३ डिग्री मापन गरिएको थियो ।

जल तथा मौसम विज्ञान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबारभन्दा न्यूनतम तापक्रम आज थप घटेको हो ।

यसैबीच, आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।