म्याग्दी । धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवन तोकिएको समयमै सम्पन्न नहुँदा अझै अधुरो अवस्थामा छ । तेस्रो पटक थपिएको म्याद सकिन करिब छ महिना बाँकी रहँदा भवनको भौतिक प्रगति करिब ६० प्रतिशतमा सीमित रहेको छ ।
तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पाँच शय्याको अस्पताल भवनको बाँकी ४० प्रतिशत काम छोटो अवधिमा पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ । गत साउन महिनादेखि रोकिएको निर्माण कार्य मध्यहिउँदसम्म पनि पुनः सुरु नभएको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए ।
अस्पताल भवन समयमै नबन्दा भौगोलिक रूपमा विकट धवलागिरी क्षेत्रका बासिन्दाले आधारभूत स्वास्थ्य सेवा पाउन ढिलाइ भइरहेको स्थानीयको गुनासो छ । अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिने ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा अवरोध आएको उनीहरूको भनाइ छ ।
भवन निर्माणका लागि विसं २०७८ वैशाखमा धवलागिरी गाउँपालिकाले करिब ४ करोड ७९ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ भित्र काम सम्पन्न गर्ने लक्ष्य थियो । दुई तले, १६ कोठे उक्त भवन आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासन, औषधि भण्डारणलगायत सेवा दिन सक्ने गरी भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री बनाइने योजना छ ।
गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुख्य संरचनाको ढलान सम्पन्न भए पनि फिनिसिङलगायतका काम अझै सुरु हुन सकेका छैनन् । तेस्रो पटक थपिएको म्याद आगामी असारसम्म रहेको छ ।
वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले ठेकेदारलाई काममा फर्काउन पटक–पटक ताकेता गरिएको जानकारी दिँदै आवश्यक परे धरौटी जफत र कालोसूचीमा राख्ने विषयमा छलफल भइरहेको बताए । “ठेकेदारहरू प्रायः आर्थिक वर्षको अन्त्यतिर मात्र देखिन्छन्,” उनले भने ।
यता निर्माण कम्पनीका प्रतिनिधि दीपक अदैले मौसम र ढुवानी समस्याका कारण काम रोकिएको दाबी गर्दै केही दिनमै मजदुर र सामग्री ल्याएर निर्माण पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले समयमै बजेट निकासा गरे चालु आर्थिक वर्षमै भवन सम्पन्न गर्ने उनको भनाइ छ ।
संघीय सरकारको सबै पालिकामा आधारभूत अस्पताल स्थापना गर्ने योजनाअन्तर्गत विसं २०७७ पुस २२ गते तत्कालीन सांसद भूपेन्द्रबहादुर थापाले भवनको शिलान्यास गरेका थिए । तर निरन्तरको ढिलाइले स्थानीयको अपेक्षा अझै पूरा हुन सकेको छैन ।








