काठमाडौँ ।उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच औपचारिक एकीकरणको सहमति भएको छ। लामो समयदेखि जारी संवादपछि भएको यो एकीकरणलाई आगामी निर्वाचनका सन्दर्भमा नयाँ राजनीतिक परिवर्तनको प्रस्थानबिन्दुको रूपमा हेरिएको छ।
एकीकरणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उज्यालो नेपाल पार्टीका प्रमुख अभियन्ता कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई केन्द्रमा राख्दै साझा यात्रामा अघि बढ्ने निर्णय भएको बताएका छन्। उनले उज्यालो भविष्य निर्माणका लागि सबै पक्ष एक ठाउँमा उभिएको उल्लेख गर्दै यो सहकार्यले देशलाई सही दिशातर्फ लैजाने विश्वास व्यक्त गरेका छन्।
राजनीतिक स्रोतका अनुसार, घिसिङ पछिल्लो केही समयदेखि रास्वपाका सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निरन्तर संवादमा थिए। अन्ततः बालेन, रवि र कुलमानबीच सहकार्यमा निर्वाचनमा जाने सहमति बनेपछि घिसिङले रास्वपाबाटै निर्वाचन लड्ने निर्णय गरेका हुन्।
यो एकीकरणलाई पछिल्ला महिनामा देखिएको ‘जेन–जी आन्दोलन’को भावना र दबाबको राजनीतिक अभिव्यक्तिका रूपमा पनि हेरिएको छ। युवा पुस्ताले उठाएको सुशासन, पारदर्शिता र प्रणालीगत सुधारको मागलाई संस्थागत राजनीतिको धारमा ल्याउने उद्देश्यसहित सहकार्य गरिएको नेताहरूको दाबी छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकीकरणले वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। दुवै पक्षले अभियानलाई अझ प्रभावकारी बनाउन नागरिकको निरन्तर साथ र सहयोग आवश्यक रहेको बताएका छन्।







