काठमाडौँ । विद्युतको खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ ।

ADVERTISEMENT

कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ । भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको उल्लेख छ ।

ADVERTISEMENT

आर्थिक सर्वेक्षण २०८२–८३ अनुसार चालू आवको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत गत आवको सोही अवधिको तुलनामा क्रमशः १० प्रतिशत र ९ दशमलव ९ प्रतिशतले घटेको छ । विद्युतीय खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात घट्दै जाने देखिन्छ ।

आर्थिक सर्वेक्षणअनुसार कर्णाली प्रदेशका केही गाउँपालिका र सुदूरपश्चिम प्रदेशको केही गाउँपालिकाबाहेक अन्य स्थानमा विद्युतीय पहुँच पुगेको छ । विद्युतीय पहुँच पुगेको स्थानमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने चुनौती कायमै छ । त्यसका लागि सरकारले प्रयास गरिरहेको छ ।

एकाध वर्षभित्रै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पु¥याउने र थप गुणस्तरीय बनाउने सरकारको प्रयासलाई सरोकारवाला निकायले पनि साथ र सहयोग प्रदान गरेका छन् ।
गत फागुन मसान्तसम्म मुलुकको कूल विद्युत् जडित क्षमता चार हजार १०५ मेगावाट बराबर पुगेको छ । त्यसमा जलविद्युतको जडित क्षमता तीन हजार ७९८ मेगावाट बराबर छ । चालू आवमा भारततर्फ दुई हजार ९१८ गिगावाट घण्टा बराबरको विद्युत् निर्यात भएको छ ।

आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसङ्ख्यामा पुगेको भए पनि सुरक्षित खानेपानीको पहुँच २९ प्रतिशतमा मात्रै सीमित छ ।

स्वास्थ्य बिमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन् । त्यसमध्ये वैदेशिक रोजगारीमा जानेको हिस्सा ७५ दशमलव नौ प्रतिशत बराबर छ ।

आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३६ लाख ४१ हजार पुगेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध भएका छन् । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख नाघेको छ । चालु वर्षमा मात्रै २ लाख ७३ हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन् ।

मातृ मृत्युदर घटेर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ भने बाल मृत्युदर ३१ रहेको छ । २१ लाख ४८ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । सरकारी अस्पतालको संख्या ८ हजार ९७६ पुगेको छ । देशभर सडक सञ्जाल १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ । टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेट पहुँच १४५.७ प्रतिशत पुगेको छ ।

सर्वेक्षणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको छ ।

उद्योग विभाग र लगानी बोर्डमार्फत चालु वर्षमा ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने र उनीहरूको औसत बसाइ १६.३४ दिन पुग्ने अनुमान गरिएको छ ।

फागुनसम्म बैंक तथा वित्तीय संस्थामा ६ करोड २० लाख निक्षेप खाता र २० लाख ४० हजार कर्जा खाता पुगेका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता करिव ३ करोड पुगेका छन् । निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.४२ प्रतिशत पुगेको छ ।

नेप्से परिसूचक २८२०.४५ बिन्दुमा पुगेको छ भने कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब पुगेको छ । डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको २६ प्रतिशत हो ।