ढाका। बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बीएनपीकी अध्यक्ष खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा मंगलबार बिहान उपचारका क्रममा निधन भएको हो ।
विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन् ।
खालिदा जिया केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखासम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन् ।
सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुईपटक बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् । उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीसमेत हुन्।








