काठमाडौं । आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टको जन्मोत्सवको अवसरमा विश्वभर क्रिश्चियन समुदायले आज क्रिसमस डे मनाइरहेका छन् ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको विश्वासका आधारमा आजको दिनलाई क्रिश्चियन समुदायले तीनवटै दिवसका रूपमा मनाउने गरेको छ । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मानवलाई पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा क्रिसमस डे मनाइने अध्यक्ष गहतराजले जानकारी दिए ।

विश्वका धेरै देशमा परम्परागत रूपमा मनाइँदै आएको क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिँदै छ । सो कार्यक्रममा सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका अधिकारी, मानव अधिकारकर्मी लगायतको सहभागिता रहने महासङ्घले जनाएको छ ।

क्रिसमस डे को अवसरमा नेपालमा बिदाको व्यवस्था पनि समयक्रममा परिवर्तन हुँदै आएको छ । विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएकोमा विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ ।

पछिल्लो समय क्रिसमसको अवसरमा काठमाडौंसहित देशका प्रमुख सहरका मुख्य स्थानहरू क्रिसमस ‘ट्री’ र झिलिमिली बत्तीले सजाइने गरिएको छ । विशेषगरी पर्यटकको आवागमन बढी हुने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा क्रिसमसको रौनक बढी देखिने गरेको छ ।

नेपाल ख्रिष्टियन महासङ्घको अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेका छन् भने देशभर १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्