त्रिभुवन विमानस्थलका हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार उद्धार तथा राहतमा खटिएका १५–२० वटासम्म हेलिकप्टरले एउटै क्षेत्रमा उडान गर्दा पाइलटहरू साझा रेडियो फ्रिक्वेन्सीमार्फत आपसमा सम्पर्कमा रहने गरेका छन्।
पाइलटहरूले आफ्नो पोजिसन, उडानको दिशा र आसपासको हवाई ट्राफिकबारे एकअर्कालाई जानकारी गराउँदै आफैं आवश्यक उडान दूरी कायम गरिरहेका छन्। यसरी आपसी समन्वयमार्फत हेलिकप्टरबीच ‘सेपरेसन’ कायम गरी सुरक्षित रूपमा उद्धार तथा राहत उडान सञ्चालन भइरहेको श्रेष्ठले बताएका छन्।
उद्धार कार्यमा धेरै हेलिकप्टर एकै क्षेत्रमा परिचालन हुँदा हवाई ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि पाइलटबीचको निरन्तर सञ्चार र समन्वयले उडानलाई सुरक्षित बनाउन सहयोग गरिरहेको छ।







