काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्केपछि रास्वपा पूर्वनेतृ सुमना श्रेष्ठलाई निकै तनाव परेको छ । केही समयअघि उनले रास्वपा छाडेकी थिइन् ।
सुमनाले त्यसअघि नै रास्वपाको सांसदबाट राजीनामासमेत दिइसकेकी छन् । पछिल्लो समय प्रतिनिधिसभा पुनःस्थापना हुने व्यापक चर्चा छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सुनुवाइ जारी छ । कथंकदाचित वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गराउन नसकेमा संसद् पुनःस्थापना हुने निश्चित छ । त्यसकारण संसद् पुनःस्थापना भएमा सुमनालाई निकै संकट पर्नेछ ।
रवि नक्खु कारागारमै हुँदा सुमनाले रास्वपा त्यागेकी थिइन् । उनले त्यसअघि रवि छुटेका बेला सहमहामन्त्री पदबाट समेत राजीनामा दिएकी थिइन् । अब रवि पूरै जोशका साथ राजनीतिमा सक्रिय हुने भएका छन् । जसकारण सुमनाको चलखेल र सक्रियतामा प्रूर्णविराम लाग्ने धेरैले अनुमान गरेका छन् ।
रास्वपा त्यागेकी सुमना कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा सामेल हुने चर्चा थियो । तर अन्तिम समयमा उनी उज्यालो नेपाल पार्टीम समेत प्रवेश गरिनन् । उनले उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह फेर्न माग गरेकी थिइन् । तर कुलमानले आफ्नै व्यक्तित्व झल्किने नाम र चुनाव चिह्न राखेर पार्टी खोल्दा सुमना त्यसमा अटाइनन् । एउटै पार्टी खोल्न सबै सहमत भए पनि नाम र चुनाव चिह्नमा मतभेद भएपछि उनी त्यो पार्टीमा नपरेको बताइएको छ ।
बालेनको समर्थनमा कुलमानसँग मिलेर नयाँ पार्टी खोल्ने योजनामा असफल बनेकी सुमनाको पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीसँग पनि दूरी बढेको चर्चा छ । प्रधानमन्त्रीलाई थाहै नदिई सचिवालयमा आफ्ना मान्छे घुसाएको तथ्य खुलेपछि उनलाई बालुवाटारले धेरै महत्व नदिएको बताइन्छ ।
सुमनालाई पछिल्लो समय जेनजीले पनि विश्वास गर्न छाडेको भनिँदै छ । विभिन्न समूहमा रहेका जेनजीलाई आफूअनुकूल उचाल्ने र पछार्ने गरेको आरोप उनीमाथि लागेको छ । १० बुँदे सम्झौतामा हस्ताक्षर भएको दिन पनि सुमनाको भूमिका शंकास्पद देखिएको प्रधानमन्त्रीनिकट जेनजी समूहका एक युवाले दावी गरे ।












