सिड्नी । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सातजनाको वैचारिक सम्बन्ध अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग रहेको प्रहरीले जनाएको छ ।
मध्यसिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको सूचना पाएपछि सशस्त्र सामरिक अपरेसन अफिसरहरूले सातजनाको समूहलाई पक्राउ गरेको थियो ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँग शुक्रबार कुरा गर्दै न्यू साउथ वेल्स (एनएसडब्ल्यू) का प्रहरी उपायुक्त डेभिड हडसनले ती व्यक्तिहरूको चरमपन्थी विचारधारासँग सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको बताएका छन् ।
इस्लामिक स्टेट (आइएस) को विचारधाराबाट प्रेरित भएको भन्दै अधिकारीहरूले आइतबार बोन्डी समुन्द्री तटमा यहुदी पर्व हनुक्का मनाउन भेला भएका मानिसहरुको समुहमा गोली हानेपछि एकजना कथित बन्दुकधारीसहित १६ जनाको मृत्यु भएको थियो ।
हडसनले छिमेकी राज्य भिक्टोरियाबाट सिड्नी गएका सातजनाको समूहले बोन्डी तटमा जाने योजना बनाएको सूचना प्रहरीले पाएको बताउनु भएको छ । रणनीतिक अधिकारीहरूले कुनै पनि सम्भावित हतियारहरू प्राप्त गर्नुअघि नै ती मानिसहरूलाई पक्राउ गरेको उनले बताएका छन् ।






