काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थलाई ज्यान मार्ने धम्की दिने समूहका नाइके समातिएका छन् ।

विदेशबाट भाका राखी पटक पटक ज्यान मार्न धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहका नाइके भनिएका प्रकाश पाठक प्रहरी नियन्त्रणमा परेका हुन् ।

ADVERTISEMENT

प्रहरी उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा फिलिपिन्सको राजधानी मनिलाबाट त्यहाँको प्रहरीले पाठकलाई नियन्त्रणमा लिएको छ । पाठकलाई नेपाल ल्याएर आवश्यक कारबाही गर्न नेपाल प्रहरीको विशेष टोली त्यसतर्फ जाने तयारीमा छ ।

ADVERTISEMENT

पाठकलाई हस्तान्तरण गर्न कम्तीमा दुई दिन प्रक्रिया लाग्ने प्रहरीले जनाएको छ । मनिला पुग्न दुई दिन,फर्कन दुई दिन र हस्तान्तरण गर्न दुई दिन लाग्ने भएकाले टोली गएर आउन एक साता लाग्ने देखिन्छ ।

अख्तियारको आधिकारिक इमेलमा ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ ले १० जनाको हत्या गर्ने योजना बनाएको र त्यसमा राईको नाम पनि समावेश रहेको उल्लेख थियो । इमेलमा लेखिएको थियो, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ, त्यसमा तपाईंको नाम पनि छ । १० दिनभित्र राजीनामा दिनुहोला, यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ ।’

ADVERTISEMENT

आफूलाई सो समूहको संगठन प्रमुख बताउने प्रकाश पाठकद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘यो काम हामीले गर्दैनौँ,भागेका कैदीहरुले गर्नेछन्,उनीहरुलाई हामी आर्थिक सहायता गर्नेछौँ, घटनाको जिम्मेवारी भने हामी नै लिनेछौँ ।’ उनले सोही व्यहोराको धम्की फेसबुक पेजमा भिडियोमार्फत् पनि दिएका थिए ।

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ ले कांग्रेस नेतृ आरजु राणा देउवा, रमेश लेखक, बालकृष्ण खाँण, पूर्वआईजीपी ओमविक्रम राणा, रमेश चन्द ठकुरी, हेमबहादुर गुरुङ, दुर्गा प्रसाईलगायतलाई ज्यान धम्की दिएको थियो । लगत्तै प्रहरीले उच्चपदस्थको सुरक्षामा कडाई गरेको थियो ।