काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । यस्तो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर ३ खर्ब १८ अर्ब ४० करोड बचतमा रहेको छ । रुपैयाँमा विप्रेषण आप्रवाह नेपाली ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहेको छ । निर्यात ७७.५ प्रतिशतले १८.७ प्रतिशतले बढेको छ । आयात नेपाल सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.३८ प्रतिशत रहेको छ ।







