काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मुरासु’ नामको चक्रवात आज शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’अनुसार आइतबार बिहान ११:४५ बजे दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा यो चक्रवात विकसित भएको हो ।
हाल यो मौसम प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । आज मध्यपश्चिम बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने र कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चक्रवात नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रबाट शक्तिशाली आँधीका रूपमा जमिनमा प्रवेश गर्न सक्ने अनुमान छ ।
यद्यपि, हालसम्मको मौसम विश्लेषणअनुसार उक्त प्रणालीका कारण नेपालमा उल्लेखनीय मौसमी प्रभाव पर्ने सम्भावना देखिएको छैन ।
महाशाखाले चक्रवातको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।









