करिब पन्ध्र सय वर्षदेखि स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउँदै आएको ऐतिहासिक सामुदायिक जलस्रोत ‘येंगा हिटी’ पुनर्स्थापना कार्य पूरा भएपछि ५० वर्षपछि पुनः पानी बग्न थालेको छ। दीर्घकालसम्म स्थानीय समुदायकै नेतृत्वमा संरक्षित रहँदै आएको यो हिटीको जीर्णोद्धार येगा क्लब र चिभा चैत्य अर्गनाइजेसनको सहकार्यमा, वर्ल्ड मोनुमेन्ट्स फन्ड तथा नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा सम्पन्न भएको हो।


पुनर्स्थापना परियोजनाअन्तर्गत हिटी क्षेत्रको सुरक्षा र निगरानी सुदृढ गर्न CCTV क्यामेरा पनि जडान गरिएको छ। २०२२ विश्व मोनुमेन्ट्स वाचमा सूचीकृत यस सम्पदाको पुनर्स्थापना वर्ल्ड मोनुमेन्ट्स फन्डको काठमाडौं उपत्यकाको हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत सम्पन्न भएको हो। यस कार्यमा अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस र आइरन माउन्टेनलगायत संस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ।