ललितपुर । सिद्धार्थ बैंकले फोनपे पेमेंट सर्भिस लिमिटेडसँगको साझेदारीमा सिद्धार्थ फोनपे क्रेडिट कार्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
सिद्धार्थ बैंकका उप–मुख्य कार्यकारी अधिकृत रामेश्वरप्रसाद बास्यालले कीर्तिपुर क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिगमा सिद्धार्थ फोनपे क्रेडिट कार्ड अनावरण गरेका हुन् । यससँगै सिद्धार्थ बैंक अब नेपालकै पहिलो र एकमात्र पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्ड आफ्नै मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउने प्रमुख वित्तीय संस्थामध्ये एक बनेको छ।
यसले ग्राहकहरूलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र सजिलो क्रेडिट पहुँचको नयाँ युगमा प्रवेश गराएको बैंकले जनाएको छ ।
सिद्धार्थ फोनपे क्रेडिट कार्डले प्रयोगकर्ताहरूलाई देशभरका १८ लाख फोनपे क्युआर व्यापारीहरूमा छिटो, सुरक्षित र कन्ट्याक्टलेस भुक्तानी गर्न सुविधा प्रदान गर्नेछ । सक्रिय उपभोक्ताहरूका लागि डिजाइन गरिएको यो कार्डमा इन्स्तन्त एक्टिभेसन, रियल–टाइम कन्ट्रोल, र उन्नत सुरक्षा जस्ता सुविधाहरू रहेका छन् ।
विशेष लॉन्च अफरका रूपमा सिद्धार्थ बैंक र फोनपेको तर्फबाट नयाँ प्रयोगकर्ताहरूका लागि ५० प्रतिशत क्यासब्याक (अधिकतम ७५० रुपैयाँ) प्रदान गरिनेछ। सीमित अवधिका लागि लागू यो अफरले प्रयोगकर्तालाई सुरुदेखि नै क्युआर आधारित क्रेडिट भुक्तानीको सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको ।
‘सिद्धार्थ बैंकलाई फोनपे क्रेडिट कार्ड इकोसिस्टममा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौँ। हामी मिलेर वित्तीय समावेशीकरणलाई थप सशक्त बनाउँदै देशभरका ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त पार्नेछौँ,’ फोनपे पेमेंट सर्भिसका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने ।
नेपालमा डिजिटल अपनत्व तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सिद्धार्थ फोनपे क्रेडिट कार्डले पहुँचयोग्य क्रेडिट विकल्प विस्तार गर्दै देशको डिजिटल भुक्तानी पूर्वाधारलाई बलियो बनाउने महत्वपूर्ण उपलब्धि जनाउने अपेक्षा गरिएको छ । यो कार्ड अब सिद्धार्थ बैंकका ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत उपलब्ध छ।






