काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल पावर) ले पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका ७ ग्रिड सब स्टेसनलाई पूर्ण स्वचालित प्रणालीमार्फत  सञ्चालनमा ल्याएको छ। अब यी सब स्टेसनहरू मिनभवनस्थित नयाँ नियन्त्रण कक्षबाट एकीकृत रूपमा व्यवस्थापन हुने छ।

स्युचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु गरी बाँकी ६ सब स्टेसन दुई महिनाभित्र स्वचालित प्रणालीमा जोडिनेछ। यसबाट विद्युत् प्रणाली अझ स्थिर र मजबुत बन्ने बताइएको छ।

ADVERTISEMENT

कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार स्वचालित प्रणाली लागू भएपछि बारम्बार हुने विद्युत् अवरोध घट्नेछ र उपभोक्तालाई निरन्तर आपूर्ति सुनिश्चित हुनेछ।

वास्तविक समयको तथ्याङ्क उपलब्ध भएपछि लोड व्यवस्थापन पनि सहज हुनेछ, जसले प्रणाली सञ्चालनमा दक्षता बढाउनेछ। यसका साथै सञ्चालन खर्च र प्राविधिक क्षति कम हुनेछन् र स्मार्ट ग्रिड विकासमा योगदान पुग्नेछ। स्वचालित प्रणालीले क्रमिक रूपमा कर्मचारी ड्युटीमा भौतिक रूपमा खटिनुपर्ने आवश्यकता पनि घटाउनेछ, जसले मानवशक्ति व्यवस्थापनमा लचिलोपन थप्नेछ।

एशियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा यस परियोजना सञ्चालन गरिएको हो। पहिलो चरणको लागत करिब ६१ करोड रुपैयाँ रहेको छ। देशभरिका बाँकी ६४ ग्रिड सब स्टेसनलाई पनि आगामी डेढ वर्षभित्र स्वचालित बनाइने योजना छ।