काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्रीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो ४ बजे बैठक बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ र राष्ट्रिय सभाको निर्वाचनका माघ ११ मा हुँदै छ ।
निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छिन् ।
शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् । बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपाका साथै, जेनजी प्रतिनिधि पनि सहभागी हुने बताइएको छ ।
प्रमुख राजनीतिक दल अझै चुनावमा जाने कि नजाने भन्ने अलमलमै रहेपछि प्रधानमन्त्री कार्कीले सक्रियता बढाएकी हुन् । दल नतातेकाले चुनावी माहोल बन्न सकेको छैन । अबको एक साताभित्र चुनाव हुने माहोल बनाउन सरकार लागिपर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।








