दमौली , तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट करिब रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँभर अहिले बारीका बोटबोटामा पाकेका सुन्तला टिप्ने, छान्ने र बजार पठाउने चटारो छ।

सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका किसान फलबहादुर थापाले एक्लै रु १६ लाख ५० हजार बराबरको सुन्तला बेच्नुभयो । उहाँका अनुसार बेनीकोट गाउँबाट मात्रै यस वर्ष झण्डै रु दुई करोड बराबरको सुन्तला कारोबार भएको छ ।

किसान कालबहादुर रानाले यस वर्ष रु चार लाख बराबरको सुन्तला बिक्री गरेको बताए । उहाँका अनुसार सुन्तला बिक्रीमा कुनै समस्या छैन । “ठेकेदार नै गाउँमा आउँछन्, बगानकै मूल्य तोकेर बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सबै काम ठेकेदारले नै गर्छ,” रानाले बताए ।

स्थानीय मनसिंह थापाका अनुसार अन्य खेतीभन्दा सुन्तला खेती सजिलो, जोखिम कम र आम्दानी बढी हुने भएकाले किसानहरू आकर्षित छन् । उहाँले यस वर्ष रु दुई लाख १० हजार को सुन्तला बिक्री गरेका छन् । “मंसिर महिना भरि बेनीकोटका किसानहरू सुन्तला बेच्नमै व्यस्त हुन्छन्,” थापाले भने ।

ADVERTISEMENT

व्यवसायी लेखबहादुर थापाले सडक भिरालो र स्तरोन्नति नभएको कारण सदरमुकाम नजिकै भए पनि ढुवानीमा कठिनाइ हुने बताए । “हाल दैनिक पाँचवटासम्म गाडीमा सुन्तला बजार पठाइन्छ, तर बाटो जोखिमपूर्ण भएकाले असहजता हुन्छ,” उनले भने ।

ADVERTISEMENT

बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म आपूर्ति हुन्छ । मंसिर धान भित्र्याउने समय भए पनि बेनीकोटका किसानका लागि सुन्तला नै मुख्य आयस्रोत बनेको छ, जसका कारण उनीहरू अहिले सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।