काठमाडौँ, नेपालको पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायुसेवा निगम (एनएसी) बीच समझदारीपत्र (MoU)मा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार दुवै संस्थाले विश्वभर हुने पर्यटन मेला, डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसारदेखि मेगा इभेन्ट र ब्रान्डिङसमेतका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्नेछन्।

एनटिबीले विदेशी पर्यटन मेला, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलनलगायत प्रमुख प्रवर्द्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन्स’का रूपमा निःशुल्क सहभागी गराउनेछ। त्यस्तै, एनएसीले आफ्ना उडान गन्तव्यतर्फ १०० किलोग्रामसम्मका प्रचार सामग्री नि:शुल्क लैजान दिने र संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने व्यवस्था गरेको छ। दुवै संस्थाले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा समेत संयुक्त रूपमा काम गर्नेछन्, जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि बढाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

सम्झौतामा नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत प्रचार सामग्री एकीकृत गर्ने प्रावधान समावेश छ। आवश्यक परेमा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता प्रदर्शन गर्ने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस तथा व्यापारिक कार्यक्रममा संयुक्त उपस्थिति जनाउने सहमति पनि गरिएको छ।

ADVERTISEMENT

नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा एनएसीले सहुलियत टिकट उपलब्ध गराउनेछ। सहकार्यका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन प्रणाली अझ गतिशील, समन्वित र परिणाममुखी बन्ने विश्वास व्यक्त गरिएको छ। दुवै संस्थाले प्रत्येक छ महिनामा संयुक्त प्रतिवेदन तयार गरी कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नेछन्।

ADVERTISEMENT

सम्झौतापछि नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले यो सहकार्यलाई नेपालका अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै भने, “नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो, पर्यटन यसको मूल प्रेरक शक्ति। दुवै संस्थाको यो रणनीतिक साझेदारिले ‘नेपाली ब्रान्ड’ लाई विश्वभर थप प्रभावकारी रूपमा स्थापित गर्न मद्दत गर्नेछ। विमानस्थलदेखि गन्तव्यसम्मको एकीकृत प्रवर्द्धनले नेपालको पहिचान अझ स्पष्ट र दिगो पर्यटन विकासका लागि महत्त्वपूर्ण हुनेछ।