काठमाडौं। नेपाल सरकारको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याइरहेको छ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको हो।सोही विशेष उडानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रुलाई दुबई विमानस्थलसम्म पुर्‍याइएको निगमले जनाएको छ।प्रवक्ता पुनका अनुसार आज पनि निगमको विमान काठमाडौंबाट २६७ जना यात्रु लिएर दुबई प्रस्थान गर्नेछ। उक्त विमानले त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ।

पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि नेपाल सरकारले उद्धार उडान सुरु गरेको हो। यही १६ फागुनदेखि सो क्षेत्रमा उडान बन्द भएपछि अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन विशेष उडान सञ्चालन गरिएको जनाइएको छ।

ADVERTISEMENT

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान सेवा प्रभावित भएको र त्यसका कारण विभिन्न देशमा नेपालीहरू अलपत्र परेका थिए।

ADVERTISEMENT