काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनायो। चितवनका लागि ओपनर डेभिड मलान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे । मलानले ५४ बलको सामना गर्दै चार चौका र पाँच छक्काको मद्दतमा ८० रन बनाए।
अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले। सैफ जैबले सात रन र रवि बोपाराले तीन रन मात्र जोड्न सके । कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे। मल्लले १४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३० रन बनाए। मल्लले हानेको छक्का बलले लागेर चियर लिडर घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
बलिङतर्फ जनकपुर बोल्ट्सका माज सदाकत, अनिल साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटनले समान एक–एक१ विकेट लिए। माज सदाकतले चार ओभरमा एक मेडनसहित २३ रन दिए ।
चितवन प्रतियोगितामा तेस्रो जित निकाल्ने दाउमा छ । चारमध्ये दुई खेल जितेर ४ अंक जोडेको चितवन प्लेअफको ढोका खोल्ने दाउमा छ । चितवनले कर्णालीलाई चार तथा विराटनगरलाई ४८ रनले पराजित गरेको थियो । लुम्बिनीसँग ६ विकेट तथा काठमाडौंसँग ५३ रनले हारेको थियो ।
लगातार चार खेलमा पराजित भएर तालिकाको पुछारमा रहेको जनकपुर पनि चितवनलाई हराउँदै प्लेअफ सम्भावना कायम राख्ने योजनामा छ । जनकपुर पहिलो खेलमा काठमाडौंसँग ५ विकेट, दोस्रो खेलमा विराटनगरसँग ९ रन, पोखरासँग २५ रन तथा चौथो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।







