बनियानी । पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको चार महिनामा १६ अर्ब बढीको मालवस्तु आयात हुँदा आठ अर्बको निर्यात भएको छ ।
चालू आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ । चालू आवको चार महिनामा आठ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा आठ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो ।

चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार राजस्व संकललन गरेको हो । राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात् ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।

काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ ।

अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजारको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् दुई अर्ब सात करोड ४१ लाख ३२ लाखले बढी हो ।

चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।

प्लाइउड निर्यातमा ५२।७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा एक अर्ब २५ करोड ७२ लाख ५९ हजार बराबरको प्लाइउड निर्यात भएकामा चालू आवको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजारको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ६६ करोड २२ लाख ४१ हजारले कमी हो ।

भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकोमा चालू आवमा रु ३८ करोड ६२ लाख ६८ हजारको निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ करोड १७ लाख ६८ हजारले बढी हो ।

कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ । चालू आवको चार महिनामा ३७ करोड ९९ लाख १२ हजारको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । नौ करोड १२ लाख ८७ हजार बराबरको मुसुरो दाल यो नाकाबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा एक करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो ।