काठमाडौं । पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन्।
पोखरेलले रास्वपाका सभापति रवि लामिछाने अदम्य साहस भएको व्यक्ति भएको र अब रास्वपाले मात्र देशमा सुशासन ल्याउन सक्ने दाबी गरे। आइजिपी नियुक्तिमा अन्याय भएको भन्दै पोखरेल प्रहरीको एआइजी पदबाट तीन वर्षअघि राजीनामा दिएका अधिकृत हुन्।
आफू १७ महिना सिनियर भए पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आइजीपी नबनाएकोमा उनी असन्तुष्ट हुँदै एआइजी पदबाट राजीनामा दिएर बाहिरिएका थिए ।
यसअघि नेपाल प्रहरीबाट रिटायर्ड वा राजीनामा दिएर हिँडेकाहरू विभिन्न पार्टीमा क्रियाशील छन् । पूर्वआइजीपी ध्रुवबहादुर प्रधान राप्रपा, पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले हुँदै अहिले आफ्नै पार्टी, पूर्वडिआइजी रमेश खरेल हाम्रो सुशासन पार्टी, रास्वपा हुँदै अहिले स्वतन्त्र, पूर्वडिआइजी नवराज सिलवाल एमालेमा क्रियाशील छन् । शुक्रबारदेखि पूर्वएआइजी पोखरेलले रास्वपा चयन गरेका छन् ।








