काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्की विवादैविवादले घेरिएकी छन् । पहिलो दिनदेखि नै उनीमाथि आरोपै आरोप लाग्दै आएको छ ।

पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री नियुक्त हुन नसक्ने संवैधानिक प्रावधान कुल्चेको, आफैंले प्रतिनिधिसभा पुनःस्थापना गराउने आदेशमा सुनाएकोमा त्यसलाई बिर्सेर अहिले प्रतिनिधिसभा विघटन गरेको, चुनावको एक मात्र म्यान्डेट लिएर प्रधानमन्त्री नियुक्त भए पनि राजनीतिक नियुक्ति, सरुवा बढुवामा लागेको, सरकारलाई पूर्णता दिन नसकेको, विदेश शक्तिको आडमा चलेको, एनजिओ र आइएनजिओका प्रतिनिधिले भनेअनुसार सरकार चलाएको, प्रमुख दलका शीर्ष नेताको अनुहार नै हेर्न मन नलागेको जस्ता अभिव्यक्ति र व्यवहारका कारण उनी आलोचनामा पर्दै आएकी छन् ।

ADVERTISEMENT

पछिल्लो समय कार्कीमा परर्फेन्स नदेखिएको र उनको नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने भन्दै मार्गप्रशस्तको आवाज उठेको छ । अझ महान्यायाधिवक्ता सरिता भण्डारी र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका कारण त उनको राजीनामा माग गर्नेको आवाज बढ्दै गएको छ ।

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको भन्दै बहिस्कार गर्न माग गरेको छ ।

ADVERTISEMENT

सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्री गरेको तथा प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा लागेको आरोप लगाएको छ ।

जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ । ‘अतः हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठराघात नगर्न आह्वान गर्दछौँ’, जेनजी मुभमेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिस्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आह्वान गर्दछौँ ।’

‘हामी नेपाल’ एनजिओका संयोजक सुधन गुरुङले त सरकार बनेको एक सातादेखि नै प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् । अहिले गुरुङलाई बालुवाटारको गेट बन्द भएको छ । सुधन पछिल्लो समय गृहमन्त्री ओमप्रकाश अर्याल हटाउने अभियानमा लागेका छन् । तर उनको मागको सुनुवाइ कसैले गरेको छैन ।