काठमाडौं । बुधबारदेखि अशान्त बनेको बाराको सिमरा शान्त बन्ने प्रयासमा छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतीपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन्।

जेनजी कपिल खरेलले प्रहरी प्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुने जानकारी दिए। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहलाई वार्ताका निम्ति सदरमुकाम कलैया बोलाएका छन् ।

आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चारजना जेनजी घाइते भएका थिए।

प्रदर्शकारीले सिमरा आसपासका क्षेत्रमा तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पुनः एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ। यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बनेको छ।

बारामा अवस्था तनाग्रस्त बन्दै गएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चिन्ता जनाएका छन् । उनले बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अनुरोध गरेका छन् ।

‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन। त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिँड्डुल गर्ने, सभा सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।