काठमाडौँ । नेपालबाट चीनमा राँगाभैँसीको मासु निर्यात गर्न अझै केही समय लाग्ने भएको छ । चीनमा राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता डेढ वर्षअघि नै भए पनि निर्यात भने हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भम्रणका क्रममा नेपालबाट राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो । सोही अनुसार पुस २०८० मा मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबिच सम्झौता भएको थियो ।
सम्झौता अनुसार चिनियाँ कम्पनी जियानले नेपाली कम्पनी हिमालयन फुडमार्फत नेपालमा राँगाभैँसीपालन, मासु प्रशोधन र निर्यातका लागि लगानी गर्ने छ । व्यावसायिक भैँसीपालन, नस्ल सुधार, अन्तर्राष्ट्रियस्तरको वधशाला निर्माण, मासु प्रशोधन हुने उद्योग स्थापनालगायतमा लगानी गरिने बताइएको छ । चिनियाँ कम्पनी जियान मासु प्रशोधन तथा बिक्रीमा अनुभवी कम्पनी हो, चीनमा जियानका छ हजारभन्दा बढी आउटलेट छन् ।
सम्झौतापछि सिन्धुलीको मरिणमा आगामी भदौदेखि पूर्वाधार निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । हिमालयन फुड इन्टरनेसनल प्रालिका अध्यक्ष डा.चीनमा स्वस्थ मासुको माग बढी भएकाले राँगाभैँसीको निरोगिता संवेदनशील विषय बनेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन जिल्लामा भैँसीपालन र मासु उत्पादनका लागि रोगमुक्त क्षेत्रको सीमा निर्धारण गरेको जनाएको छ । मन्त्रालयले भैँसीपालन र मासु उत्पादनको पर्याप्त सम्भावना भएका इलाम, सिन्धुपाल्चोक र मकवानपुरलाई रोगमुक्त क्षेत्र घोषणा गरेको हो ।
मासु निर्यातका लागि रोगमुक्त क्षेत्रमा भैँसी उत्पादन र स्वच्छ वधशाला निर्माण गर्नुपर्ने प्रोटकलको व्यवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा तपेन्द्रप्रसाद बोहोराले मासु निर्यातका लागि सहजीकरण गर्ने काम गरिएको जानकारी दिनुभयो ।
नवीन शर्माले मासु निर्यातका लागि सिन्धुलीमा जग्गा खरिद गरी पूर्वाधार निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।उहाँका अनुसार ठुलो भैँसी फार्म सञ्चालन गरी दैनिक पाँच हजार राँगाभैँसीबाट पाँच सय टन मासु निर्यात गर्ने लक्ष्य राखिएको छ ।
प्रालिले भैँसीका लागि बर्दियाको गुलरियामा घाँस रोप्ने काम सुरु गरेको छ । मुलुकभर रहेका किसानलाई जोड्नलाई भैँसीपालक समूह गठन गरिएको छ ।







