काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विपक्षी दल सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, माओवादी, एकीकृत समाजावादीलगायत दलहरू मुख्यमन्त्री यादवको नियुक्ति रोक्न सर्वोच्च जाने भएका हुन् । संविधानको धारा १६८ को उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको विपक्षी दलहरूको भनाइ छ ।
एमाले संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्ति गर्दै होटलमा बोलाएर शपथ खुवाएकी थिइन् । उनी स्वास्थ्य उपचारका लागि भन्दै आइतबार राति नै प्रदेश बाहिर गएकी थिइन् ।
जसपा नेपालका नेता मनिष सुमनले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी भएको जानकारी दिए । उपधारा (२) को विकल्पमा जान सकिने हुँदा नेपाली कांग्रेस पनि मुख्यमन्त्री नियुक्तिको विपक्षमा रहेको उनको भनाइ छ ।
अब मधेशमा एमालेकै प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख भएका छन् । सुवेदीलाई केपी ओली प्रधानमन्त्री हुँदा प्रदेश प्रमुख नियुक्त गरेका थिए । सभामुख रामचन्द्र मण्डल एमालेकै सांसद हुन् । मधेशमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।












