काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, आज भने बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ। होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार पाँच अर्ब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३१२ स्टकको ४२ हजार ८७९ पटकको कारोबारमा चार अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ।

युनियन हाइड्रोपावर कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको साढे ३२ करोड र राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँ कारोबार भएको छ।

आज माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजोदेखि कारोबारमा आएको यस कम्पनीको सेयरमूल्य ३४ रुपैयाँ ९० पैसा बढेर ३८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।