रामेछाप । निजी वायु सेवा कम्पनीले रामेछाप–काठमाण्डौ उडान अब हप्ताको एक दिन मात्रै गर्ने भएका छन् । यसअघि हप्तामा तीन वटा उडान हुँदै आएको थियो । यात्रुको चाप घटेसँगै उडान तालिका घटाएको वायु सेवा कम्पनीले जनाएका छन् ।
बर्खामा बीपी राजमार्ग बन्द हुँदा तथा मुख्य चाडपर्व समेत परेको अवस्थामा अलपत्र यात्रुको सहजताका लागि यसअघि स्थानीय शान्तिदीप युवा क्लब र जेनजी समूहले रामेछाप–काठमाण्डौ नियमित उडानको माग गरेका थिए ।
रामेछाप विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि मात्रै उडान हुँदै आएकोमा स्थानीयवासीको विरोधपछि काठमाण्डौ पनि उडान थालिएको थियो ।
तीन वटा वायु सेवा कम्पनीले हप्ताको तीन दिन रामेछाप–काठमाण्डौ उडान भर्ने सहमति जनाएका थिए । सहमति अनुसार असोज महिनादेखि हप्ताको बुधवार समिट एअर, शुक्रवार सीता एअर र शनिवार तारा एअरले रामेछाप–काठमाण्डौ उडान भर्दै आएका थिए ।
अब हरेक हप्ताको शुक्रवार रामेछाप–काठमाण्डौ उडान गर्ने गरी सहमति भएको शान्तिदीप युवा क्लबका अध्यक्ष सुरेश उदासले जानकारी दिए । त्यस अनुसार सीता एअर, तारा एअर र समिट एअरले पालैपालो रामेछाप–काठमाण्डौ उडान गर्नेछन् ।








