वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताएका छन् । उनका अनुसार गाजामा नौ दिनदेखि लागू भएको युद्धविराम अझै पनि प्रभावमा छ ।
इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लंघन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो । यस्ता आक्रमणमा कम्तीमा ४५ जनाको ज्यान गएको गाजाको हमास–नियन्त्रित नागरिक सुरक्षा निकायले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘हो, युद्धविराम अझै पनि लागूमा छ ।’ उनले युद्धविरामको उल्लंघनमा हमासको नेतृत्वको संलग्नता नरहेको संकेत गर्दै केही विद्रोही समूह जिम्मेवार भएको बताए ।
‘हामी चाहन्छौं कि हमाससँगको स्थिति शान्तिपूर्ण होस्,’ ट्रम्पले भने, ‘तर यदि आवश्यक प¥यो भने कडा तर न्यायोचित ढंगले त्यसलाई समाधान गरिनेछ ।’
गाजाका चारवटा अस्पतालहरूले एएफपीलाई ४५ जनाको मृत्यु पुष्टि गरेका छन् । तर, गाजामा सञ्चार तथा पहुँचमा कठिनाइका कारण यस्ता विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने एएफपीले जनाएको छ ।
इजरायली सेनाले भने आफूहरूले युद्धविरामको पालना गरिरहेको तर कुनै पनि उल्लंघनप्रति कठोर प्रतिक्रिया जनाउने जनाएको छ । हमासले भने आरोपहरू अस्वीकार गर्दै इजरायलले युद्ध पुनः सुरु गर्ने बहाना बनाएको दाबी गरेको छ ।
सुरक्षा अधिकारीहरूले युद्धविरामको उल्लंघनको कारण देखाउँदै इजरायलले गाजामा राहत सामग्री प्रवेश अस्थायी रूपमा रोकिएको बताएका छन् । यसअघि पनि युद्धकालमा राहत रोकिँदा मानवीय संकट गहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको थियो ।








