काठमाडौं।  इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्।काट्जले एक विज्ञप्ति जारी गर्दै आफूलाई इरानका उच्च सुरक्षा अधिकारीको मृत्युबारे जानकारी प्राप्त भएको बताएका हुन्। तर इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने लारीजानीले छिट्टै सन्देश जारी गर्ने दाबी गर्दै उक्त समाचारको अप्रत्यक्ष खण्डन गरेका छन्।

अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्। उनलाई सन् २०२५ अगस्टमा राष्ट्रपति मसुद पेजेस्कियानले उक्त पदमा नियुक्त गरेका थिए।यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार पछिल्लो केही घण्टायता तेहरानका विभिन्न भागमा ठूलो विस्फोटको आवाज सुनिएको छ। ती आक्रमणहरू राजधानीमा मात्र सीमित नरही अह्वाज, इस्फाहान र सिराजजस्ता सहरमा पनि भएको जनाइएको छ।

ADVERTISEMENT

रिपोर्टका अनुसार राजधानीका महत्वपूर्ण संरचना तथा दुई प्रमुख व्यक्तित्व—आईआरजीसीअन्तर्गतको बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी र सुरक्षा परिषद्का सचिव लारीजानीलाई लक्षित गरी आक्रमण भएको सूचना प्राप्त भएको छ।इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का एक अधिकारीले लारीजानीलाई लक्षित गरी आक्रमण गरिएको पुष्टि गरेका छन्। यद्यपि उनी मारिएका हुन् वा घाइते भएका छन् भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

यसअघि लारीजानीले सोमबार अबेर एक सन्देश जारी गर्दै इस्लामिक देशका सरकारहरूको आलोचना गरेका थिए। उनले इरानलाई सहयोग नगरेको भन्दै विभिन्न मुस्लिम राष्ट्रप्रति प्रश्न उठाएका थिए।यसैबीच, इजरायलले अर्को आक्रमणमा इरानको अर्धसैनिक ‘बासिज बल’ का प्रमुख घोलमरेजा सोलेमानी मारिएको दाबी पनि गरेको छ। तर इरानले यसबारे कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

सन् १९६४ मा जन्मिएका सोलेमानी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का अनुभवी कमाण्डर मानिन्छन्। सन् २०१९ देखि उनले बासिज बलको नेतृत्व सम्हाल्दै आएका थिए, जसलाई इरानको आन्तरिक सुरक्षा संरचनाको महत्वपूर्ण अंग मानिन्छ।अमेरिका, युरोपेली संघ, बेलायत र क्यानडालगायतका देशहरूले सोलेमानीमाथि विभिन्न प्रतिबन्ध लगाएका छन्।पछिल्ला घटनाक्रमले इजरायल–इरानबीचको तनाव झनै चर्किने संकेत देखिएको छ।