काठमाडौँ । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहिबार  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, मलेशिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

ADVERTISEMENT

उनले फिर्ता बोलाइएका राजदूतहरू आउँदो कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्ने बताए । सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन ।

मन्त्रिपरिषद् बैठकले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

यस्तै नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढावा दिनका लागि २ वटा प्रमुख ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय भएको प्रवक्ता खरेलले बताए ।

उनका अनुसार पूर्वी नेपालको इनरुवा–पुर्णिया ४०० केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको अनुमति प्रदान गर्ने निर्णय पनि भएको छ ।