स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । पूर्वशिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।

गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताए । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उनले जानकारी दिए । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए ।

ADVERTISEMENT

‘शिक्षण पेसामा रहँदै गर्दा पनि बिहानबेलुकाको समयमा कम मात्रामा फूलखेती गरेको थिएँ’, उनले भने, ‘फूलखेतीबाट मनग्य आम्दानी हुने देखेपछि अहिले पूरै समय व्यावसायिक फूलखेतीतर्फ जोडिएको हुँ ।’

बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताए । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका उनले मागअनुसार फूल पु¥याउन नसेकेको उल्लेख गरे । ‘सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ’, उनले भने, ‘मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।’ यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।

भण्डारीले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाएका छन् । उनलाई श्रीमती र दुई छोराले सहयोग गरेका छन् । फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उनको भनाइ छ ।

भण्डारीले फूलका थुंगा थोकमा प्रतिकिलो ३००, फुटकरमा प्रतिकिलो ४०० देखि ४५० र माला प्रतिगोटा ९० रुपैयाँसम्ममा बिक्री गर्दै आएको जानकारी दिए । ग्राहकको मागका आधारमा माला वा फूलका थुंगा दुवै बिक्री गर्ने गरेको उनको भनाइ छ ।

भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब ६ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उनले बताए । गत वर्ष एकै याममा फूल र माला बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उनले यस वर्ष १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।