महोत्तरी । जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरेका छन् ।  करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक ७ लाख बचत गर्दै आएको बताएका हुन् ।

अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०÷१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरे लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्य गर्ने उनले बताए ।

ADVERTISEMENT

फूलखेतीमा उनलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गरेका छन् । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताए । उनका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । ‘एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ’, उनले भने ।

उनले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाएकोे बताए ।  एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले जानकारी दिए । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उनको भनाइ छ ।

‘एउटा सयपत्री फूल उनेको मालाको ५० देखि ७० पर्छ । घरमा आएका व्यापारीलाई ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेको छ’, लालबाबुका छोरा विकासले भने । थोकमा प्रतिकिलो  चारदेखि  ५०० सम्ममा बिक्री गर्दा दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने उनले जानकारी दिए ।

लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गरेका छन् । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।