कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छिन । फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् ।

दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक २० लाखसम्मको कारोबार हुने गरेको बताइन् । आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खर्च कटाएर वार्षिक आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब १० लाखबराबरको कारोबार भएको उनले बताइन् ।

ADVERTISEMENT

उनले भनिन् ‘मूल्य समयअनुसार फरकफरक हुन्छ । फूल प्रतिकिलो एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला ६० देखि एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।’ उनले भनिन्‘चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।’

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताइन् । उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको जानकारी दिइन् । उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन् ।

फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताइन् । फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताइन् ।