काठमाडौँ । पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानहरूमा व्यापक वर्षा मापन भएको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको विभागले जनाएको छ। विभागका अनुसार मंगलबार राति ११ः३० बजे बागलुङ जिल्लास्थित गलकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ।
सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकोले, कमजोर र भिरालो जमिनमा पहिरोको जोखिमसमेत देखिएको विभागले जनाएको छ। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैगरी, मकवानपुर जिल्लास्थित लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपासमा पुगेको र अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ।
मंगलबार राति जारी सूचना अनुसार लालबकैया खोलासहित आसपासका साना खोलाका किनार क्षेत्रहरूमा बाढीको जोखिम रहेकाले बुधबार बिहानसम्म विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।







