काठमाडौँ, । आयातित बिउको प्रयोग बढिरहेका बेला रैथाने जातका बिउ संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् ।

नेकपा एमाले केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागले मङ्गलबार आयोजना गरेको ‘रैथाने बिउ तथा पशु नस्ल संरक्षण, विकास र प्रवर्धन स् आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार’ विषय राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्ने सहभागीले रैथाने जात लोप हुन थालेकाले संरक्षण गर्न जोड दिएका हुन् ।

कार्यक्रम नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले रैथाने जातको वैज्ञानिक ढङ्गले अध्ययन र पहिचान गरी संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । मुलुकमा बाली, पशुपन्छी, पुष्पजन्यका रैथाने जात कति छन् भन्ने लोखोजोखा गरी सूचीकृत गर्न आवश्यक रहेको बताउनुभयो ।

रैथाने जातभन्दा पनि हाइब्रिडको प्रयोग बढ्दै गएकाले हाम्रो अनुसन्धान किन बढी प्रभावकारी भएन भनेर अध्ययन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

भविष्यमा आइपर्न सक्ने खाद्य सङ्कटको चुनौती सामान गर्न रैथाने जातलाई संरक्षण गरेर राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अहिले नस्ल सुधार गरेका जात कुनै पनि बेला सङ्कटमा पर्न सक्ने भएकाले पनि रैथाने जातलाई संरक्षण गर्न राज्यले यसमा लगानी गर्नुका साथै किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा  शिवराज अधिकारीले कृषि उत्पादन र उत्पादकत्व बढाउन हाइब्रिड उत्पादनमा जोड दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा हरि केसीले बिउ गुणस्तरीय हुँदा २० देखि २५ प्रतिशतले उत्पादन बढ्ने जानकारी दिनुभयो ।

मुलुकमा वार्षिक ४५ हजार मेट्रिक टन बिउ आवश्यक पर्नेमा ३८ हजार मेट्रिक टन मात्र आपूर्ति भइरहेको उहाँले जानकारी दिनुभयो ।