काठमाडौं । कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । दसैँपछि तीन कारोबारका दिन ८१ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज एकैदिन ७८ अंकले घटेको हो ।
आज ७८.८३ अंकले घटेर सेयर बजार २५०३.३५ बिन्दुमा आइपुगेको छ। कारोबार रकम भने अघिल्ला दिनभन्दा बढेको छ । नौ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २४२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।
गत बिहीबार पाँच अर्ब २७ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको एक करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको ३८ करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। एनएलजी इन्स्योरेन्सको ३७ करोड, यूनियन हाइड्रोपावरको कारोबार रकम ३६ करोड नाघेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशत बढेको छ।
पुँजी बजार सुधारका लागिनेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जामा लगाइएको २५ करोड रुपैयाँको सीमा हटाएको छ। तर पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।
राष्ट्र बैंकले एकपटकमा २० प्रतिशतसम्म मात्रै सेयर खरिद बिक्री गर्ने व्यवस्था पनि हटाएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनाभित्र शतप्रतिशत सेयर खरिद बिक्री गर्न सक्नेछन्। उक्त कदमले बजारमा सकारात्मक सन्देश गएर लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो देखिएन ।
२०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पुगेको थियो । गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएको छ । गत साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता भने सेयर बजार तीव्र ओरालो लागिरहेको छ ।






