काठमाडौं । आफूलाई जेनजी प्रदर्शनको प्रमुख स्टेकहोल्डर दावी गर्दै आएको हामी नेपाल नामक गैरसरकारी संस्थाका संस्थापक सुधन गुरुङले एमाले निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै ह्यासट्याग अभियान थालेका छन् ।
उनले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत ‘डु अर डाइ’को नाममा अभियान चलाएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले नै प्रहरीलाई गोली चलाउन आदेश दिएको जनाउँदै गुरुङले पक्राउ गर्नुपर्ने मागसहित थिम पोस्टर सार्वजनिक गरेका छन् ।
सरकारलाई चौतर्फी दबाब दिन उक्त अभियानमा सहभागी हुन उनले युवाहरुलाई आह्वानसमेत गरेका छन् । गुरुङले सार्वजनिक गरेको पोस्टरमा ओली र लेखकलाई हत्यारा करार गर्दै तस्बिरसमेत राखिएको छ ।
गुरुङको अभियानलाई रास्वपा नेता एवं काठमाडौंका मेयर बालेन्द्र साह बालेन निकट गणेश कार्कीले समर्थन गरेका छन् ।
आन्दोलनमा मिनिरल वाटर सहयोग गर्दागर्दै गुरुङ जेनजी आन्दोलनका अगुवा भएर निस्केका छन् । उनलाई बालेनले संरक्षण गरेका छन् । बालेनमाथि नेपथ्यमा बसेर राजनीतिक अस्थिरता मच्चाएको आरोप लागेको छ ।











