काठमाडौं, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडकमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ।
प्राधिकरणले आज जारी गरेको सूचनामा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको उल्लेख गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई करिडोर सडकमा आवागमन रोक लगाउन आग्रह गरेको हो।

आज राति वर्षाको मात्रा अझै बढ्दै जाँदा नदी खोलामा पानीको सतह थप बढ्ने र नदी किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। सम्भावित जोखिम कम गर्न करिडोर सडकमा सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउन प्राधिकरणले अनुरोध गरेको हो।
प्राधिकरणले नागरिकहरूलाई सतर्क रहन र आवश्यक नपरेसम्म नदी किनार क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।







