काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गरेका छन्। नेपालका भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्न यो सम्झौता भएको हो ।

यो पहलको केन्द्रमा ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स रहेको छ, जुन क्रिएटरले लिड गर्ने एक अभियान हो । यसले विशेष इन एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरुलाई नेपालका घुम्नैपर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ।

बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरुसँग सहकार्य गर्नेछन्, जसअनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरुको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ।

अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाइ टिकटकमार्फत् सार्वजनिक गर्नेछन्।

पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरुलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको बताए। ‘यस साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविष्मरणीय अनुभवहरुसँग जोड्न र अझै धेरै पर्यटकहरुलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने।

टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले बोर्डसँग सहकार्य गरी नेपालका प्राकृतिक एवं सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित रहेको बताइन्। ‘नेपालमा संसारकै अद्‌भूत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवहरूको आनन्द लिन सकिन्छ,’ उनले भनिन् ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बोर्ड र टिकटकबीच भएको यो साझेदारी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा मात्र सीमित नरहेको बताउँदै यसले हाम्रा स्थानीय समुदाय र सिर्जनाकर्ताहरूलाई सशक्त बनाउनमा पनि ध्यान केन्द्रित गर्ने बताए । उनले भने, ‘यस साझेदारीअन्तर्गत योजना गरिएका कार्यशाला र क्षमता अभिवृद्धि कार्यक्रमहरूले नेपाली युवा, उद्यमी र कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो सम्पदा, संस्कृति र उद्यमहरू प्रदर्शन गर्ने सीप प्रदान गर्नेछन्।’ पर्यटन नेपालको लागि उद्योग मात्र नभई यो हाम्रो सामाजिक आर्थिक विकासको मेरुदण्ड पनि भएको मन्त्री पाण्डेले बताए ।