म्याग्दी, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धन गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजना सन् २०२५ नोभेम्बर २७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको सुरुङ, बाँध र विद्युत्गृहको संरचना निर्माण अन्तिम चरणमा पुगेको र विद्युत्गृहमा उपकरण जडान सुरु भएको आयोजना व्यवस्थापक राज बिष्टले जानकारी दिनुभयो। उहाँका अनुसार, ठेकेदार कम्पनीले दसैँको समयमा पनि ५०० भन्दा बढी मजदुर परिचालन गरेर कामलाई निरन्तरता दिएको छ।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले २०१७ नोभेम्बर १७ मा रु छ अर्बमा ४५ महिनामा आयोजना सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, कोरोना महामारी, बाढी, पहिरो र नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम ढिलो भएको हो। यसअघि दुई पटक म्याद थपिएकोमा हाल तेस्रो पटक थपिएको म्याद आगामी नोभेम्बर २७ सम्मको छ।
विद्युत्गृहका उपकरण जडानको जिम्मा पाएको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले समेत कार्ययोजना अनुसार प्रगति गर्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्मको छ।
आयोजना व्यवस्थापक बिष्टका अनुसार, कार्ययोजना अनुसार काम भए डिसेम्बरभित्र आयोजना सम्पन्न हुनेछ। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँको फेदीमा बाँध, करिब ६.२७ किलोमिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माण कार्य ९० प्रतिशत सकिएको छ।
भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण, नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (EPC) मोडमा आयोजना अगाडि बढाइएको हो।
यसअघि २०७२ सालमा आर्थिक कारणले पुरानो ठेकेदार आइभिआरसिएलसँगको सम्झौता तोडिएको थियो। त्यसपछि जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।
राहुघाट जलविद्युत् आयोजना वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (PPA) भएको हो। यहाँबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत जोडिनेछ। प्रसारण लाइन र चारवटा टावर निर्माण भइसकेको छ।






