नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको सुपरिवेक्षणका क्रममा आधा दर्जन बैंक तथा वित्तीय संस्थामाथि विभिन्न प्रकारका कारबाही गरेको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतमाथि कानुनी व्यवस्थाअनुसार चेतावनी, जरिवाना तथा सुधारात्मक निर्देशन जारी गरेको जनाएको छ।

‘क’ वर्ग अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकलाई बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली–२०८१ को व्यवस्था पालना नगरेको भन्दै सचेत गराइएको छ। कृषि विकास बैंकले सम्बन्धित निकायको अनुरोधअनुसार समयमै बैंक खाता रोक्का नगरेकाले उसलाई पनि चेतावनी दिइएको राष्ट्र, बैंकले जनाएको छ।

ADVERTISEMENT

त्यसैगरी, प्रभु बैंकमा निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कमजोरी समयमै सुधार नगरेको, अघिल्ला निर्देशनको पालना नगरेको तथा कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था सम्बन्धी निर्देशन उल्लंघन गरेको निष्कर्षसहित सञ्चालक समितिलाई सुधारात्मक योजना कार्यान्वयन गर्न निर्देशन दिइएको छ। बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

‘ख’ वर्गका विकास बैंकतर्फ नारायणी डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई एकल ग्राहक कर्जा सीमा सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै सचेत गराइएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल, सञ्चालक समिति र अध्यक्षलाई आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, कर्मचारीबाट ग्राहक खातामा अनधिकृत पहुँच भएको घटनामा प्रभावकारी कारबाही नगरेको तथा आवश्यक सुधार नगरेको भन्दै चेतावनी दिइएको छ।

ADVERTISEMENT

‘ग’ वर्गअन्तर्गत रिलायन्स फाइनान्स लिमिटेडले अनिवार्य नगद मौज्दात कायम नगरेकाले प्रचलित कानुनी व्यवस्थाअनुसार आर्थिक जरिवाना गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा नियामकीय व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित संस्थालाई निर्देशन दिएको छ।

यस्तो छ राष्ट्र बैंकले जारि गरेको निर्देशन