काठमाडौं। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंको होटल क्राउन इम्पेरियलमा चाइना भ्लगर मिट २०२५ सम्पन्न भयो। कार्यक्रममा दुवै देशका अग्रणी क्रियेटर, इन्फ्लुएन्सर र स्टोरीटेलरहरूले सांस्कृतिक आदानप्रदान, सहकार्य र डिजिटल मिडियाको भविष्यबारे छलफल गरे।
कार्यक्रमले डिजिटल स्टोरीटेलिङ्गमार्फत सांस्कृतिक कूटनीति सुदृढ पार्ने, पर्यटन प्रवर्द्धन गर्ने र नेपाल–चीनबीच जनस्तरको सम्बन्ध बलियो बनाउने भूमिकामा जोड दियो।
बागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठले भने, “नेपाल–चीन मैत्रीको ७० वर्षको अवसरमा डिजिटल क्रियेटरहरूले हाम्रो सांस्कृतिक समृद्धिलाई विश्वसामु पुर्याउँदै सीमापार सम्बन्ध सुदृढ पारिरहेका छन्। उनीहरू हाम्रो समयका कथावाचक हुन्।”
नेपाल टेलिभिजनका निर्देशक सुनील शर्माले थपे, “यो पहलले पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा हाम्रो साझा प्रतिबद्धतालाई बलियो बनाएको छ। डिजिटल मिडियाले दुवै देशका युवाहरूसँग नयाँ कथाहरू र अवसर सिर्जना गरिरहेको छ।”
चीनबाट आएका अग्रणी भ्लगरहरू—लङ केयु, वाङ लिली, लेइ केक्सिन, ली लिवेई, झेङ डान, सियाङ रोंग, ली हुआगजियाङ, माई जुआन यु र मा युए—ले नेपाली क्रियेटरहरूसँग अनुभव बाँडे, अन्तरक्रियात्मक सत्रमा भाग लिए र पर्यटन, जीवनशैली, संस्कृति तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने सामग्री निर्माणमा सहकार्यको अवसरबारे छलफल गरे।







