काठमाडौं, १८ असोज – सशस्त्र प्रहरी बलले बिदामा रहेका सबै कर्मचारीलाई नजिकैको प्रहरी कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिएको छ।
विपद् उद्धारका लागि परिचालन गर्नुपर्ने अवस्था आएकाले सबै कर्मचारीलाई तुरुन्त हाजिर हुन निर्देशन दिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
सम्भव भएसम्म सबैलाई आफ्नै कार्यालयमा हाजिर हुन भनिएको छ। आफ्नो कार्यालयमा तत्काल हाजिर हुन नसकेमा आफ्नो नजिकैको जुनसुकै सशस्त्र प्रहरी कार्यालयमा हाजिर भएर उद्धार कार्यमा जुट्न निर्देशन दिइएको उनले बताए।
हाल देशभर विभिन्न सुरक्षा निकायका कर्मचारीहरूलाई हाई अलर्टमा राखिएको छ।













