काठमाडौं । दसैँकै बीचमा यसपटक पनि अघिल्लो वर्ष असोज ११ र १२ को जस्तै भीषण वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसमविद्हरूले हाल तीनवटा वर्षा गराउने वायु सक्रिय भएको भन्दै सतर्क रहन आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब भारी वर्षाको सम्भावना रहेको टिप्पणी गरेका छन्। उनले अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।’
पोखरेलले किसानलाई सचेत बनाउनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘भारी वर्षा लगभग ३–४ दिन सम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनुहोला ।’
उनका अनुसार बुधबारदेखि वर्षा हल्का हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने उल्लेख गरेका छन्। उनले यस वर्ष हिले दसैँ हुने बताए।
मौसम पूर्वानुमान शाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी वर्षा भएको थियो। जसकारण व्यापक धनजनको क्षति भएको थियो । भारतले पनि असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको अलर्ट’ जारी गरिसकेको छ ।







