काठमाडौं । नेपाली सेनाले मुलुक संवेदनशील अवस्थामा पुगेको ठहर गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा सम्पन्न एकदिने पृतनापति सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो । सम्मेलनमा मुलुकको पछिल्लो अवस्था र आगामी रणनीतिबारे गम्भीर छलफल भएको थियो ।
हरेक वर्ष दशैँअघि आयोजना हुने नियमित सम्मेलनलाई यसपटक भने विशेष महत्वका साथ हेरिएको छ । हालैको जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न अराजक अवस्थाले गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको सन्दर्भमा सेनाले सुरक्षा दृष्टिकोणलाई पुनर्मूल्यांकन गर्दै ‘सतिसालजस्तै दृढ’ रहन आह्वान गरेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेको सम्मेलनमा सबै पृतनापतिले आआफ्ना कार्यक्षेत्रका सुरक्षा अवस्थामाथि प्रतिवेदन प्रस्तुत गरेका थिए । यसपटक भर्चुअल रूपमा पृतनापतिहरूले आफ्नै कार्यक्षेत्रबाट प्रत्यक्ष प्रस्तुति दिएका थिए ।
सम्मेलनले हालैको जेन-जी आन्दोलनपश्चात नेपाल भूराजनीतिक चक्रव्यूहको चरम अवस्थामा पुगेको मूल्यांकन गरिएको छ । बाह्य शक्तिहरूले नेपालको आन्तरिक अस्थिरतालाई उपयोग गर्दै रणनीतिक हित खोजिरहेकोतर्पm सम्मेलनले संकेत गरेको स्रोतले बतायो । जसकारण सेनाले अब आफ्नो भूमिका अझ प्रभावकारी बनाउनैपर्ने निष्कर्ष निकालेको छ ।
पृतनापतिहरूले सुरक्षाको चुनौतीलाई सामना गर्न सेनाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले प्रस्तुत गरेका प्रतिवेदनमा सीमापार गतिविधि, गैर–राज्य शक्तिहरूको चासो, सामाजिक विद्रोह, सूचना-प्रविधिमार्फत बढ्दो प्रचारयुद्धलगायतका चुनौतीलाई नजिकैबाट नियाल्नुपर्ने बारेमा समेत छलफल भएको बताइएको छ ।
प्रधानसेनापति सिग्देलले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न सेनाले जुनसुकै परिस्थितिमा पनि दृढ रहनुपर्नेमा जोड दिएका थिए । साधारणतया दुई दिनसम्म चल्ने पृतनापति सम्मेलन यसपटक एकै दिनमा समापन गरिएको छ ।
‘देश अझै गम्भीर संकटतर्फ जानसक्ने आँकलन भएको छ । त्यसैले सेनाले आफैंलाई तयारी अवस्थामा राखेर मात्र होइन, रणनीतिक अभ्यासमार्फत सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उपाय खोज्नुपर्ने सुझाव दिइएको छ,’ एक पृतनापतिले भने । गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्थामा सेना मौन बस्न नसक्ने ठहर गरिएको छ ।
मुलुकको राजनीतिक-सामाजिक अस्थिरता, जेन–जी आन्दोलनपछि देखिएको विद्रोही स्वरूप र भूराजनीतिक चासोका कारण सेनाले तिहारलगत्तै रणनीतिक निर्णय लिने स्रोतको भनाइ छ । सेनाले कात्तिक तेस्रो सातादेखि मंसिरसम्म ठूलो आन्दोलन हुनसक्ने आकलन गरेको छ ।
जेनजी आन्दाेलनपछि नयाँ सरकार बन्ने बेला के कस्ताे दबाब र धम्कीकाे सामना गर्नुपरेकाे थियाे भन्ने विषयलाई सेनाले सूक्ष्म रुपमा विश्लेषण गरिरहेकाे बताइएकाे छ । त्यसबेला भारत, निर्मल निवास र अमेरिका तथा काठमाडाैंका मेयर बालेन्द्र साह बालेनकाे भूमिका शंकास्पद देखिएकाे सेनाले ठहर गरेकाे छ ।








