काठमाडौं । अन्तरिम सरकारका चारजना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा मन्त्रीहरू अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले सपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले दुईपटक गरी सातजना मन्त्री बनाएकी छन् । अझै पनि सरकारले पूर्णता पाउन सकेको छैन । नेपालको संघीय सरकारमा प्रधानमन्त्रीसहित २१ वटा मन्त्री र तीनजना राज्यमन्त्री गरी २५ सदस्यीय बनाउन सकिने संवैधानिक प्रावधान छ । तर प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताइसकेकी छन् । त्यसैले अझै पनि नौ मन्त्रालय उनको काँधमा छ ।

ADVERTISEMENT

अर्थमन्त्री रामेश्वर खनालले दुई, ऊर्जामन्त्री कुलमान घिसिङले तीन र उद्योग तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

ADVERTISEMENT

सोमबार नियुक्त भएका मन्त्री सिन्हालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी द्रिइएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । आफ्नो सेवाकालमा उनी कुनै विवादमा आएनन् । तर सुशीला कार्की क्याबिनेटमा उनको वरीयता वकिल मन्त्री अर्थात् गृहमन्त्री ओमप्रकाश अर्यालभन्दा तल छ ।

अर्याल पेसाले अधिवक्ता हुन् । उनले धेरैपटक न्यायाधीश सिन्हाको इजलासमा बहस गरेका छन् । तर परिस्थितिले अर्याललाई गृहमन्त्रीको जिम्मेवारीमा पुर्याएको छ भने सिन्हाले कानुन मन्त्रालयसमेत हेर्ने भएका छन् । यसअघि अर्यालले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए । अर्याललाई अब गृह मन्त्रालय मात्र। तर वरीयतामा भने पूर्वन्यायाधीश सिन्हाभन्दा माथि नै राखिएकोमा धेरैले प्रश्न उठाएका छन् ।